Skip to main content

वन व्यवस्थापन सम्बन्धी विवरण

धार्मिक वन

धार्मिक संघ/संस्थाको वरिपरि रहेको वन जंगल क्षेत्रहरू धार्मिक क्षेत्रको महत्व र सौन्दर्य बढाउने उद्देश्यले त्यस्ता धार्मिक वनको रुपमा हस्तान्तरण गरिन्छ । गाउँपालिकाको विभिन्न भागहरूमा रहेका धार्मिक स्थल धार्मिक वनको सम्भावना बोकेका क्षेत्रहरू भएता पनि त्यसको उचित संरक्षण र प्रर्वद्धन हुन नसकेको देखिन्छ।

निजी वन

वन ऐन २०४९ मा प्रचलित कानुन बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाईएको हुर्काईएको वा संरक्षण गरिएको वनलाई निजी वन भनी व्याख्या गरेको छ।

सरकारी तथा सार्वजनिक स्वामित्व नभएको व्यक्तिले आफ्नो निजी भोगचलन गर्दै आएको आफ्नै जग्गामा बोटविरुवा लगाई सोको संरक्षण गरिएको क्षेत्र वा बोटविरुवाको समूहलाई निजी वन भनिन्छ । नेपाल एक कृषि प्रदान देश हो । पशुपालनमा कृषकहरूलाई घाँस स्याउला र दैनिक उपयोगको लागि काठ, दाउरा आदिको आवस्यकता परिपूर्ति गर्ने उद्देश्यको साथ आफ्नो जग्गामा बोटविरुवा, खेत बारीमा रुखहरू, पाखो पखेरामा वोटविरुवा लगाउने प्रचलन प्राचीन कालदेखि नै रहि आएको छ। दैनिक जीवनको आवस्यकतामा पर्ने भएकाले वन टाढा भएको क्षेत्र तथा अन्य क्षेत्रमा आफुलाई सहज हुने निजी जग्गामा वोटविरुवा लगाउने गरेको देखिन्छ । प्राचीन समयमा मानिसहरूले आफ्नो आवस्यकता परिपूर्तिको लागि बोटविरुवा लगाउने प्रचलन चल्दै आएको थियो भने हाल यो प्रचलन निजी वनको अवधारणाको रुपमा व्यापक विकास भएको छ ।

राष्ट्रिय वन क्षेत्रमाथि पर्ने वन पैदावारको चापलाई कम गर्न नेपाल सरकारले अवलम्बन गरेको नीति अन्तर्गत सामुदायिक वन सँगै निजी वन कार्यक्रमसमेत संचालन भएको देखिन्छ ।

कबुलियती वन

राष्ट्रिय वन ऐन, २०४९ को परिच्छेद ६ मा उल्लेख भए अनुसार राष्ट्रिय वनको कुनै भाग देहाय बमोजिमको उद्देश्य प्राप्तिको लागि छुट्याइएको वनलाई कबुलियती वन भनिन्छ ।

(क) वन पैदावारमा आधारित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न,

(ख) बृक्षारोपण गरी वन पैदावारको उत्पादनमा अभिवृद्धि गरी बिक्री वितरण गर्न वा उपयोग गर्न,

(ग) वनको संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय सञ्चालन गर्न,

(घ) वनको संरक्षण र विकास हुने गरी कृषि वन बाली कार्य सञ्चालन गर्न,

(ङ) वनको संरक्षण र विकास हुने गरी कीट, पतङ्ग तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न ।

६.१.५जडिबुटीको उत्पादन, संकलन तथा निकासी सम्बन्धी विवरण

भौगलिक रुपमा उष्ण जलवायु युक्त बेसिँ, फाँटहरू तथा तल्लो तटिय खोचहरूदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको हुँदा जैविक विविधतामा धनि यो गाउँमा प्रशस्त जडीवुटी तथा गैरकाष्ठ वन पैदावारहरू पाईन्छन । गाउँको तल्लो भागमा अमला, सर्पगन्धा, कुरीलो, नुनढिकी आदि जस्ता जडीवुटीहरू पाईन्छन भने मध्य भागमा अर्गेली, अल्लो, लालीगुराँस, नागवेली लहरा, धसिङ्गरे, ठूलोओखती, टिमुर, ईन्द्रेनि लहरा, मजिठो, बाँस, निगालो, केतुकी (हात्तीवार), र माथिल्लो भागमा लोठसल्ला, कुटकी, झ्याउ, पदमचाल, जटामसी, यार्सागुम्वा, पाँचऔंले, चिराईतो, सुनपाती, निर्मशी, विष आदि जस्ता जडीवुटीहरू पाईन्छन । यी वन जन्य श्रोतहरूको उचित व्यवस्थापन तथा सहि रुपले उपयोग गर्न सकेमा गाउँपालिकामा व्याप्त गरिवहरूको आयआर्जनमा वृद्धि भई गरिवी न्यूनिकरणमा टेवा पुग्ने कुरा निर्विवाद छ।