Skip to main content

वन तथा वातावरणीय स्थिति

प्रदेश नं ३ को सिन्धुली जिल्ला अर्थात् पहाडी भेगमा रहेको यस गाउँपालिका वन वातावरण र जैविक विविधताको दृष्टिकोणले सम्पन्न गाउँपालिकाको श्रेणीमा पर्दछ । त्यसैगरी कूल २८०.५७ वर्ग कि.मि क्षेत्रफलको ६८.१३ प्रतिशत अर्थात १९१.१७ वर्ग कि.मि क्षेत्रफल वनले ओगेटेको छ । यहाँ पाइने प्रमुख वनस्पतिका प्रजातिहरूमा साल, अस्ना, चाँप, खोटे सल्लो, चिलाउने, गोब्रे सल्लो, कटुस, उत्तिस, सिमल आदि पाइन्छन् । यसै गरी जन्तुहरूमा चितुवा, चित्तल, बँदेल, रतुवा लगायत अन्य किटपतङ्ग आदि र चराचुरुङ्गीहरूमा मयुर, कालिज, ढुकुर, तित्रा, कोइली आदि प्रजातिका स्थानीय र आप्रवासी चराचुरुङ्गीहरू पाइन्छन्।

तीनपाटन गाउँपालिकामा पर्यावरणीय सन्तुलनका लागि पारिस्थितिक जैविक प्रणालीलाई सन्तुलित रुपबाट कायम राख्न वन, वनस्पति तथा प्राणीहरू बिचको स्थापित सम्बन्धलाई दिगो रुपमा कायम राख्न सजगता अपनाउनुपर्ने देखिन्छ । दिगो विकासका निम्ति पूर्वाधार विकासको क्रममा हुने विनासलाई न्युनीकरण गर्न नितान्त आवश्यक छ । वातावरणीय असन्तुलनले वनस्पति वा प्राणीहरूको क्रमिक ह्रास र विनास हुँदै अन्ततः लोप हुने अवस्था हुन सक्छ । विषम हावापानीमा विभिन्न जात जातिका प्राणी र वनस्पति रहेको यस गाउँपालिकामा वन संरक्षण र सम्बर्द्धनको कार्यमा स्थानीय बासिन्दाहरूको सहभागिता अपरिहार्य हुन पुगेको छ । यिनै कुराहरूलाई मध्यनजर गरी स्थानीय बासिन्दाहरूलाई आफ्नो दैनिक उपभोग्य वन पैदावारको उपलब्धता गराउने उद्देश्य राखी सामुदायिक वन दर्ता गर्ने कार्यको थालनी भएको पाइन्छ ।

मानव जीवनको लागि जैविक विविधताको संरक्षण अपरिहार्य छ । दैनिक जीवनको लागि आवश्यक काठ, दाउरा, घाँसको लागि मात्र नभई पारिस्थितिक तथा जैविक प्रणालीको सन्तुलनको लागि समेत जैविक विविधताको महत्वलाई दृष्टिगत गरी हाल देशका अन्य भागमा जस्तै यस गाउँपालिकामा सामुदायिक वनजस्ता अवधारणाहरूलाई व्यवहारमा लागू गरिएको छ । सामुदायिक वनहरू वन संरक्षण, सम्बर्द्धन तथा सदुपयोगमा सहभागी भइरहेका छन्।

 वन क्षेत्र र प्रकार सम्बन्धी विवरण

यस गाउँपालिकामा उष्ण र समशीतोष्ण प्रदेशीय जलवायु भएको कारण यस क्षेत्रमा साल, अस्ना, चाँप, खोटे सल्लो, चिलाउने, गोब्रे सल्लो, कटुस, उत्तिस, सिमल, खस्रु आदि जातका बोटविरुवाहरू पाइन्छन्। गैर काष्ठ पैदावारको रुपमा व्यापारिक र आयुर्वेदिक महत्वका दृष्टिकोणले उपयुक्त देखिएका कुरिलो, काउलो, सेतक चिनी, मजिठो, चिराइतो, वन लसुन, हलहले हलिक, तेजपात, हड्चुर, दार, पिप्ला, पाखनवेद, गुर्जो लहरा, लोक्ता, सतुवा, रिठ्ठा, दारुहल्दी, हर्रो, बर्रो, विषफेज, दालचिनि, छतिवन, टटेलो, लघुपत्र, कालो मुसली आदिजस्ता वन पैदावारहरूको उपलब्धता रहेको छ।

यस गाउँपालिका क्षेत्रमा रहेका वनजंगलहरूले जन्तुहरूमा चितुवा, भालु, चित्तल, बँदेल, रतुवा लगायत अन्य किटपतङ्ग आदि प्रजातिका जीवहरूको लागि उपयुक्त वासस्थान उपलब्ध गराएको छ। गाउँपालिकामा रहेका वनक्षेत्र तथा विभिन्न खोलानालाहरूले विभिन्न प्रजातिका चराचुरुङ्गीहरू विशेषतः कोइली, मैना, सुगा, ढुकुर, लुइँचे, गौथली, काग, भँगेरा, मयुर, हुटिट्याउँ, हुचिल, जुरेली, भद्रायो, चिल, बाज, कोटेरा, ठेउवा, बट्टाइ, चिबे, भ्याकुर, फिस्टो, रुपी, गिद्ध, धनेश, कालिज, लाटोकोसेरो, चमेरो, हाँस, परेवा, कुखुरा, तित्रा, धोबी चरो, हाडफोरुवा, कऱ्याङकुरुङ, भद्राई, सारस तथा विभिन्न घिस्रने जन्तुहरू गनग्वाली, हरहरे, सिरिसे, छेपारो, भित्ती, कछुवा, सर्प, गड्यौला, जुका, अन्य किटपतङ्ग आदिलाई बासस्थान प्रदान गर्दै संरक्षित गरेको छ । यद्यपि वनजंगल अतिक्रमणका कारण प्रकृती प्रदत्त यी जैविक र वनस्पतीय अमुल्य वन सम्पदाहरूको विस्थापन र विनाशको क्रम तिव्ररुपले बढ्दै गइरहेको छ। वर्षेनी वन क्षेत्र फडानी भई चुरे भावर क्षेत्र नाङ्गा डाँडामा परिणत हुँदै जानु र अन्य वन क्षेत्र कृषियोग्य भुभागमा परिणत हुनु तथा वन्यजन्तुहरूको वासस्थान एवं वन्य प्रजातीमा ह्रास हुनु जैविक विविधता संरक्षणका निमित्त चुनौतीका रुपमा देखिएको छ।